काठमाडौं । आज मुस्लिम समुदायले ईद–उल–फित्र पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । रिस, राग र द्वेषलाई बिर्सेर एकअर्कामा खुसी साटासाट गर्दै शुभकामना आदान–प्रदान गर्ने परम्परासहित देशभर उत्सव मनाइएको हो ।
यस अवसरमा विशेष नमाज अदा गरिन्छ भने आफन्त तथा इष्टमित्रबीच भेटघाट गरी आशीर्वाद लिने र दिने चलन रहेको छ । मिष्टान्न परिकार बनाएर खाने–खुवाउने परम्पराले उत्सवलाई थप रौनक बनाएको छ ।
रमजान महिनाभर गरिएको रोजा, अनुशासन र आत्मसंयमपछि मनाइने यो पर्वलाई आत्मिक शुद्धता र आध्यात्मिक उन्नतिको प्रतीकका रूपमा लिने गरिन्छ । यसले संयम, धैर्य र आत्मनियन्त्रणको सन्देश दिनुका साथै समाजमा एकता र सहअस्तित्वको भावना बलियो बनाउने विश्वास छ ।
ईदको चन्द्रमा देखिएपछि ‘ईद मुबारक’ भन्दै शुभकामना साट्ने परम्परा पनि रहेको छ । नयाँ लुगा लगाउने, सामूहिक नमाज पढ्ने र एकअर्कासँग गला मिलाउने चलनले सामाजिक सम्बन्धलाई अझ नजिक बनाउने गर्दछ ।
यस पर्वमा गरिने दान तथा सहयोगले गरिब, असहाय र आवश्यकतामा रहेका मानिसप्रति सहानुभूति र करुणा बढाउने विश्वास गरिन्छ । धार्मिक महत्वसँगै सामाजिक सद्भाव र सहकार्यलाई बलियो बनाउने पर्वका रूपमा ईद–उल–फित्रलाई लिने गरिएको छ ।