प्रत्यक्ष र समानुपातिक गरी २७५ सिटका लागि आज मतदान

काठमाडौँ । ‘जेन्जी’ आन्दोलनपछिको विशेष राजनीतिक परिवेशमा आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदान सुरु हुँदैछ। बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म ७७ वटै जिल्लामा एकै चरणमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन सम्पन्न भएको थियो। यसपटक प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि मतदाता मतदानमा सहभागी हुँदैछन्।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ६५ राजनीतिक दलका उम्मेदवारले ६१ निर्वाचन चिह्नमा प्रतिस्पर्धा गरिरहेका छन्। प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्, जसमा तीन हजार १७ पुरुष, ३८८ महिला र एक जना अन्य लिङ्गका उम्मेदवार छन्। समानुपातिकतर्फ भने तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमा एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला छन्। आयोगका अनुसार देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् भने १४३ अस्थायी मतदानस्थलसमेत व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा अशक्त मतदातालाई प्राथमिकताका साथ मतदान गराउने व्यवस्था मिलाइएको छ।

निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुन पाउने छन्, जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता छन्। थप एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएका छन्। सुरक्षा व्यवस्थाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र एक लाख ४९ हजार ९० म्यादी प्रहरी खटिएका छन्। निर्वाचन सञ्चालनका लागि दुई लाख १५ हजार कर्मचारी परिचालन गरिएको छ। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ गरी चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी मतदान केन्द्रमा पु¥याइसकेको जनाएको छ। चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्थाले निर्वाचनको पर्यवेक्षण गरिरहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गरेका छन्।

प्रतिक्रिया