भारतको उडिसा राज्यस्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत १२६ जना नेपाली विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन्।
केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको निधन भएपछि सुरक्षा चिन्ताका कारण विद्यार्थीहरू स्वदेश फर्किएको बताइएको छ। पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार आज १०३ छात्र र २३ छात्रा नेपाल आएका छन्।
फर्किएका विद्यार्थीहरूले केआइआइटी प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको गौतमले जानकारी दिए।
यसैबीच, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासदेखि घण्टाघर चोकसम्म प्रकृति लम्सालको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ।