साताको अन्तिम कारोबार दिन नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २४.५० अंकले बढेर २,६५७.७७ बिन्दुमा पुगेको छ। तीन सय २५ कम्पनीका एक करोड ९६ लाख ८० हजार एक सय ९५ कित्ता सेयर ९५ हजार ९७ पटक किनबेच हुँदा कुल कारोबार रकम नौ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैयाँ पुगेको छ।

आजको कारोबारमा सबै समूहका उपसूचकहरु हरियो रहे। सबैभन्दा धेरै विकास बैंक समूहको सूचक ४.०७ प्रतिशतले वृद्धि भएको छ। यस्तै, बैंकिङ समूह ०.२२, वित्त समूह १.८८, होटल तथा पर्यटन ०.६८, जलविद्युत् १.४९, र लगानी समूह १ प्रतिशतले उकालो लागेको छ।

अन्य समूहमध्ये जीवन बीमा ०.०८, उत्पादन तथा प्रशोधन १.२३, लघुवित्त ०.४८, म्युचुअल फन्ड ०.१२, निर्जीवन बीमा ०.२८, व्यापार ०.२४, र अन्य समूह १.७४ प्रतिशतले बढेका छन्।

चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, सिक्लेस हाईड्रोपावर लिमिटेड, थ्रीस्टार हाईड्रोपावर लिमिटेड, र जानकी फाइनान्स कम्पनी लिमिटेडका सेयर मूल्य १० प्रतिशतले बढेका छन्। तर, डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्य भने ८.४३ प्रतिशतले घटेको छ।

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका ३८ करोड २१ लाख ३२ हजार १ सय ८७ रुपैयाँ बराबरका सेयर किनबेच भएका छन्। त्यस्तै, किनबेच संख्याका आधारमा एनआईसी एशिया ग्रोथ फन्ड–२ का १० लाख ३ हजार ३ सय कित्ता सेयर सबैभन्दा धेरै कारोबार भएका छन्।

प्रतिक्रिया