चौधरीद्वारा सवा १४ अर्ब राजस्व योगदान


काठमाडौं– नेपाली कांग्रेसका नेता समेत रहेका उद्योगपति विनोद चौधरीको चौधरी ग्रुपले एक वर्षको अवधिमा सवा १४ अर्ब राजस्व बुझाएको जनाएको छ । चौधरी ग्रुपले आर्थिक वर्ष २०७७÷०७८ मा सरकारलाई १४ अर्ब २८ करोड रूपैयाँ बुझाएको जानकारी दिएको हो । चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक बर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको ग्रुपको भनाइ छ । पछिल्लो वर्ष नेपाल सरकारको कुल राजश्वमा चौधरी ग्रुपको योगदान १.७३ प्रतिशत रहेको छ । एउटा व्यापारिक समूहबाट सरकारको राजश्वमा भएको सम्भवतः यो सबैभन्दा ठूलो योगदान भएको दाबी गरेको छ ।


चौधरी ग्रुपले आर्थिक वर्ष २०७४÷७५ मा ९ अर्ब ६७ करोड ५७ लाख, आव २०७५÷७६ मा ११ अर्ब ६७ करोड ५९ लाख, आव २०७६÷७७ मा ९ अर्ब ८७ करोड २३ लाख र आव २०७७÷७८ मा १४ अर्ब २८ करोड रुपैयाँ कर बुझाएको जानकारी दिएको छ । ‘कोभिड–१९ का कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा चौधरी ग्रुपले राजश्वमा गर्न सकेको उल्लेख्य योगदानकोे तथ्यले मलाई उत्साहित बनाएको छ चौधरीले बताएका छन् ।


विगत चार आर्थिक बर्षमा चौधरी ग्रुपले नेपाल सरकारको राजश्वमा ४५ अर्ब ५० करोड रूपैयाँ योगदान गरेको दाबी छ । चौधरी ग्रुपले खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रसम्म लगानी गरेको छ ।गत बर्ष कोभिडका कारण ग्रुपद्वारा सञ्चालित सीजी इन्डष्ट्रियल पार्कमा रहेका उद्योगहरू करिब दुई महिना बन्द रहेका थिए । 
लकडाउन व्यहोर्नु नपरेको भए ग्रुपद्वारा नेपाल सरकारको राजश्वमा योगदान दुई प्रतिशतभन्दा माथि पुग्ने जनाएको छ ।

प्रतिक्रिया