आज दशौं संविधान दिवस

काठमाडौं । आज दशौं संविधान दिवस देशभर मनाइँदैछ। विगतका वर्षहरूमा भव्यताका साथ आयोजना हुने यो दिवस यस वर्ष भने सामान्य रूपमा मात्र मनाइने भएको छ।

सरकारले हालैको जेनजी आन्दोलनमा युवाहरूले ज्यान गुमाएको र धेरै घाइते भएको अवस्थालाई दृष्टिगत गर्दै औपचारिकता मात्र पूरा गर्ने निर्णय गरेको हो। यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान दिवसलाई साताव्यापी कार्यक्रमसहित भव्यताका साथ मनाउने निर्णय गरेको थियो। तर, पछिल्लो आन्दोलन र सरकार परिवर्तनपछि यस वर्षको दिवस ओझेलमा परेको छ।

सुरक्षाको अवस्था र शोकको वातावरणलाई ध्यानमा राख्दै सरकारले सबै जिल्लामा सांकेतिक कार्यक्रम मात्रै गर्ने तयारी गरेको छ। नेपाली सेनाले पनि सामान्य रूपमा मात्र दिवस मनाउने जनाएको छ।

जेनजी आन्दोलनको मुख्य निशानामा परेका नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रलगायतका दलहरूले भने संविधान दिवसलाई पार्टी सशक्त बनाउने प्रणसहित मनाउने तयारी गरेका छन्। आन्दोलनपछि पहिलो औपचारिक कार्यक्रम गर्न लागेका यी दलहरूले संविधान दिवसलाई आफ्नो पुनःउठानको अवसरको रूपमा उपयोग गर्ने बताएका छन्।

उता, संघीय लोकतान्त्रिक मोर्चाले भने विगतका वर्षझैँ यस वर्ष पनि असोज ३ लाई कालो दिनका रूपमा मनाउने भएको छ। मोर्चाले सामूहिक रूपमा कालोपट्टी बाँधी संविधानको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय