पियोर इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं — पियोर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिन आज, बैशाख २ गते, अन्तिम मौका हो। कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्टै किसिमबाट आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको थियो। अब सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २०० कित्ता शेयर सार्वजनिक गरिएको हो, जसको कुल मूल्य ११ करोड ९५ लाख २० हजार रुपैयाँ पर्छ।

कम्पनीको ८० करोड रुपैयाँको जारी पूँजीमध्ये २ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो। त्यस्तै, ७२ हजार कित्ता सामूहिक लगानी कोष र २८ हजार ८०० कित्ता कर्मचारीका लागि निष्काशन गरिएको थियो।

सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीलाई केयर रेटिङ नेपालले ‘CARE NP BB+ (Issuer Rating)’ प्रदान गरेको छ, जसले औसत स्तरको जोखिम संकेत गर्दछ।

पियोर इनर्जीले प्रवर्द्धन गरेको १० मेगावाट क्षमताका दुईवटा सौर्य परियना छन् — ब्लक १ र ब्लक २। ब्लक १ को कुल लागत १ अर्ब २५ करोड ४७ लाख रुपैयाँ र ब्लक २ को लागत १ अर्ब १७ करोड ६ लाख रुपैयाँ छ। दुवै आयोजनाले क्रमशः २०७७ पुस २ र मंसिर २९ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेका थिए। यी आयोजना २० वर्ष ११ महिना सञ्चालन हुनेछन्।

साधारण लगानी फिर्ता हुने समय ८.१२ वर्ष र छुटमा लगानी फिर्ता हुने समय १२.४२ वर्ष रहेको छ। शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताहरूले ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया