पत्रकार टेकमान शाक्यलाई धम्की: महासंघद्वारा एमाले नेता बस्नेतको निन्दा

पत्रकार महासंघले नेकपा एमालेका नेता महेश बस्नेतले पत्रकार टेकमान शाक्यलाई दिएको धम्कीको तीव्र विरोध गरेको छ। शनिबार महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा महासंघले पत्रकारलाई ज्यानै लिनेसम्मका धम्की दिनु प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको भन्दै निन्दा र भर्त्सना गरेको हो।

नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक शाक्यले शुक्रबार विहानदेखि बस्नेत र उनको नाम लिई अन्य केही व्यक्तिबाट बारम्बार फोन र म्यासेजमार्फत धम्की आएको बताएका छन्। उनले समाचार प्रकाशनको विषयलाई लिएर बस्नेत र उनको समूहले आफूलाई आतंकित पार्ने र त्रसित बनाउने प्रयास गरेको आरोप लगाएका छन्।

महासंघले धम्कीपूर्ण व्यवहार अस्वीकार्य भएको जनाउँदै असहमति भए कानुनी दायराभित्र रहेर प्रतिक्रिया दिन सकिने स्मरण गराएको छ। विज्ञप्तिमा भनिएको छ, “पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न सम्बद्ध व्यक्तिहरूलाई सचेत गराउँछौँ। साथै, धम्की दिने व्यक्तिहरूलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई माग गर्दछौँ।”

यसअघि महासंघ प्रतिष्ठान प्रदेश समितिले पनि विज्ञप्ति जारी गरी धम्की घटनाप्रति ध्यानाकर्षण गराउँदै निन्दा र भर्त्सना गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय