बैंकिङ प्रणालीमा तरलता सुधार, निक्षेप र कर्जा दुवैमा वृद्धि

काठमाडौं । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकमको वृद्धिको क्रम जारी छ। हाल बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप झन्डै साढे ६७ खर्ब पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार पुस २८ गतेसम्म बैंकिङ्ग प्रणालीमा एकैदिन ३६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। यससँगै कुल निक्षेप ६७ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको हो। सोमबारसम्म बैंकहरुसँग ६६ खर्ब ९८ अर्ब रुपैयाँ मात्र निक्षेप थियो।

समिक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि २८ अर्बले वृद्धि भएर ५९ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। यसअघि सोमबार यो रकम ५९ खर्ब ६० अर्ब रुपैयाँ थियो।

निक्षेपसँगै कर्जा प्रवाह पनि वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरुले ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। यससँगै कुल कर्जा लगानी ५४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ।

लामो समयदेखि कर्जा प्रवाहमा सुस्तता देखिए पनि पछिल्लो समय कर्जाको माग बढिरहेको छ। वाणिज्य बैंकहरुले मात्रै एकैदिन २७ अर्ब कर्जा प्रवाह गरेका छन्। त्यस्तै, वित्त कम्पनीहरुले ८ अर्ब निक्षेप संकलन गर्दै ४ अर्ब कर्जा लगानी गरेका छन्।

बैंकहरुबीचको अन्तर सापटीको ब्याजदर पनि घट्दो क्रममा छ। तरलता सहज भइरहेकाले अन्तर बैंक ब्याजदर हाल ३ प्रतिशतमा झरेको छ। बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) पनि ७९.४३ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया