कांग्रेस सबैभन्दा ठूलो दल बन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलका रूपमा उदाउने दाबी गरेका छन्। पार्टी मुख्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशनपछि कांग्रेस नयाँ सोच र ऊर्जा सहित अघि बढेको बताए। नागरिकले नयाँ विकल्प खोजेको भए त्यसको जवाफ कांग्रेसले दिने उनको भनाइ थियो।

उनले ‘जेनजी मुभमेन्ट’ पछि कांग्रेस रूपान्तरण भएर आएको उल्लेख गर्दै आफूलाई बदल्न सक्ने शक्ति नै देश परिवर्तनको आधार हुने जिकिर गरे। बाहिर हुने विभिन्न टिप्पणी र आलोचनाले कांग्रेसलाई कमजोर नबनाउने दाबी गर्दै उनले पार्टीप्रति जनविश्वास झन् बढिरहेको बताए।

शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउन राष्ट्रव्यापी रूपमा अभियान विस्तार भइरहेको पनि उल्लेख गरे। उनका अनुसार प्रधानमन्त्रीका लागि आवश्यक दृष्टि, बौद्धिकता र नेतृत्व क्षमताका आधारमा थापा अहिले सबैभन्दा प्रभावशाली रूपमा अघि बढिरहेका छन्।

उनले पछिल्लो समय पार्टी छाडेर गएका नेताकार्यकर्ता पुनः कांग्रेसमै फर्किने क्रम बढ्दै गएको दाबी गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बनाउने लक्ष्यका साथ अभियान तीव्र पारिएको बताए।

प्रतिक्रिया