टोकियो, जापान । जापानमा रहेका बलेवा तथा पर्वतवासी नेपालीहरूबीच आपसी सद्भाव, एकता, भाइचारा र सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले बलेवा सेवा समाज जापान र पर्वत समाज जापानको संयुक्त आयोजनामा बार्बेक्यू तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुभाष लामिछाने प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको अध्यक्षता बलेवा सेवा समाज जापानका अध्यक्ष सुरेन्द्र पौडेल ‘प्रेम’ले गरेका थिए भने सञ्चालन महासचिव रोशन चापागाईंले गरेका थिए। स्वागत मन्तव्य पर्वत समाज जापानका महासचिव विमल न्यौपानेले व्यक्त गरेका थिए।
कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पदाधिकारी, विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, अभिभावक तथा जापानस्थित नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सो अवसरमा एनआरएनए आईसीसीका पदाधिकारीहरू, नेपालबाट जापान भ्रमणमा आएका अभिभावकहरू तथा चर्चित लोकगायक रबी कार्कीलाई सम्मान गरिएको थियो।
विश्व संगीत दिवसको अवसर पारेर आयोजित कार्यक्रममा लोकगायक रबी कार्कीको विशेष सांगीतिक प्रस्तुति मुख्य आकर्षण बनेको थियो। उनले प्रस्तुत गरेका लोकप्रिय लोकगीतहरूले सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै आपसी परिचय, अनुभव आदान–प्रदान र सम्बन्ध विस्तार गर्ने अवसरसमेत सिर्जना गरेको आयोजकले जनाएको छ।
कार्यक्रमले जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आत्मीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। साथै कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण आयोजक, सहयोगी, अतिथि तथा सहभागीहरूप्रति बलेवा सेवा समाज जापान र पर्वत समाज जापानले हार्दिक आभार व्यक्त गरेका छन्।