सरकारले अपराधी नसमाऊ भन्दैन – प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई मुलुकको शान्ति सुरक्षामा विशेष ध्यान दिन र आपराधिक घटनाको पूर्वअनुमान तथा अनुसन्धानमा सधैं सचेत रहन निर्देशन दिएका छन्।

काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता फैलाउन खोज्ने प्रयासहरूलाई रोक्न जनतालाई शान्ति सुरक्षा दिने जिम्मेवारीमा दृढताका साथ काम गर्न प्रहरीलाई निर्देशन दिए।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कुनै अपराधीलाई नसमाउने, निर्दोषलाई नफसाउने र दोषीलाई नछाड्ने स्पष्ट नीति अपनाएको बताए। उनले सरकार जनताको पक्षमा केही गरौँ भन्ने भावनासहित गठन भएको र संविधान र कानुनको पालना गर्दै जनतालाई गुणस्तरीय सेवा दिन प्रहरीलाई उन्नत ज्ञानको प्रयोग गर्न आग्रह गरे।

सरुवा र बढुवा प्रक्रियामा दौडधुप नगर्न र भ्रष्टाचारविरुद्ध कडा अडान लिन निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकार भ्रष्टाचारविरुद्ध दृढ रहेको र प्रहरीलाई आफ्नो कर्तव्यमा पूर्ण स्वतन्त्रता प्रदान गरिएको उल्लेख गरे।

जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाल खाद्य संस्थानसँग १५ रोपनी जग्गा खरिद गरी एक अर्ब २६ करोड रुपैयाँको लागतमा अत्याधुनिक भवन निर्माण गरेको छ। यो परिसर २०१२ सालमा हुनमानढोकाबाट सञ्चालनमा आएको थियो।

प्रतिक्रिया