देउवा नेतृत्वविरुद्ध कांग्रेसभित्र विशेष महाधिवेशनको माग

काठमाडौं । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको नेतृत्वविरुद्ध इतर पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा आधाभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरिएको छ । इतर पक्षले विशेष महाधिवेशन माग्दै हस्ताक्षर सङ्कलन थालेको हो भने संस्थापन पक्षले उक्त हस्ताक्षरको वैधतामाथि प्रश्न उठाएको छ ।

 

कांग्रेसको १४औं महाधिवेशनमा ४७४३ जना प्रतिनिधि थिए । तीमध्ये ५० प्रतिशतभन्दा धेरैले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले दाबी गरे । उनका अनुसार भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्ने या कार्यसमितिको म्याद थप्नेबारे निर्णय लिनेछ । उनले भने, ‘महामन्त्रीहरूले नै कार्यसमितिको म्याद थपिँदैन भनेका छन्, त्यसैले बैठकले मंसिरभित्रै महाधिवेशन गर्ने मिति तोक्छ भन्ने अपेक्षा छ।’

 

शिवाकोटीले पार्टीमा रूपान्तरण चाहँदैनन् भन्नेहरू हस्ताक्षर अभियानमाथि शंका पैदा गरिरहेको आरोप लगाए । कांग्रेसको विधानअनुसार, कम्तीमा ४० प्रतिशत केन्द्रीय महाधिवेशन सदस्यले लिखित रूपमा माग गरे विशेष महाधिवेशन तीन महिनाभित्र बोलाउनुपर्ने व्यवस्था छ ।

 

इतर पक्षका नेता गुरुराज घिमिरेसहित १०९ नेताले असोज ६ गतेदेखि विशेष महाधिवेशन माग्दै हस्ताक्षर सङ्कलन थालेका थिए । उनीहरूको जोड नियमित महाधिवेशनमै रहे पनि कार्यकाल नथपी मंसिरमा महाधिवेशन गर्नुपर्ने मत व्यक्त गर्दै आएका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पनि मंसिरमै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

 

नेता शिवाकोटीले ५० प्रतिशतभन्दा बढी प्रतिनिधिले नयाँ नेतृत्व र रूपान्तरणको चाहना व्यक्त गरिसकेको बताए । उनका अनुसार, केही नेताहरूले केन्द्रीय समिति भङ्ग गरेर कार्यवाहक तोक्ने तयारी गरिरहेका छन्, जुन प्रतिगामी कदम हुने चेतावनी उनले दिए ।

 

त्यस्तै, केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलले पनि मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिए । उनका अनुसार, पार्टी एकताबद्ध भएर लागे मंसिरभित्रै महाधिवेशन सम्पन्न गर्न सकिन्छ ।

 

तर संस्थापन पक्षका नेताहरू भने मंसिरमा नियमित महाधिवेशन गर्न कठिन रहेको भन्दै अन्य विकल्पमा छलफल गर्दै आएका छन् । देउवाको सम्मानजनक बिदाइका लागि महाधिवेशन गर्नेदेखि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोक्ने वा केन्द्रीय समिति भङ्ग गरेर संयोजक नियुक्त गर्ने प्रस्तावसम्मका विकल्पहरूबारे आन्तरिक रूपमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

 

देउवा निकट नेता डा. शशांक कोइरालाले समेत केन्द्रीय समिति भङ्ग गरी कार्यवाहक तोक्ने सुझाव देउवालाई दिइसकेका छन् । तर इतर पक्षले यो प्रस्तावलाई महाधिवेशन टार्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।

 

संस्थापन पक्षले महामन्त्रीद्वयले चलाएको हस्ताक्षर अभियानले पार्टी विभाजनको जोखिम बढाएको भन्दै असन्तुष्टि जनाएका छन् । नेता कृष्ण सिटौलाले उपसभापति खड्कासहितको भेलामा उक्त कदम पार्टी एकता विपरीत रहेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया