आँखुखोला जलविद्युतको हकप्रद शेयर निष्काशन आजदेखि

काठमाडौँ ।आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले आज (साउन २७ गते) देखि आफ्नो हकप्रद शेयर निष्काशन तथा बिक्री प्रक्रिया सुरू गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार, कम्पनीले १० कित्ता शेयर बराबर १५ कित्ता नयाँ हकप्रद शेयर जारी गर्दैछ।

कुल १ अर्ब २० करोड रुपैयाँ बराबरका १ करोड २० लाख कित्ता हकप्रद शेयरहरू प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरिनेछ। हकप्रद शेयरको लागि आवेदन दिन कम्पनीले यसअघि साउन १ गते बुकक्लोज गरिसकेको छ। यसले गर्दा असार ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन्।

हकप्रद शेयरमा उच्च जोखिम: इक्रा नेपालको रेटिङ्ग

हकप्रद शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले आँखुखोला जलविद्युत कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ। यसले कम्पनीले समयमा वित्तीय दायित्व बहन गर्न कठिनाइ हुन सक्ने जोखिमलाई इंगित गर्दछ। कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले लिएको छ। लगानीकर्ताहरूले नबिल इन्भेष्टमेन्ट बैंकिङ्गसँगै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, र कुमारी बैंकका शाखा कार्यालयहरूमा आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सि आस्वा प्रणाली तथा मेरो शेयर अनलाइन सफ्टवेयर प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हकप्रद निष्काशनपश्चात् पूँजी वृद्धिका योजना

हाल आँखुखोला जलविद्युत कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ। कम्पनीले हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकममध्ये ८० करोड रुपैयाँ गणेश हिमाल हाइड्रोपावर कम्पनीद्वारा प्रबर्धित आँखुखोला २ जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्नेछ, जसमा कम्पनीको कम्तीमा ६० प्रतिशत शेयर स्वामित्व हुनेछ। बाँकी ४० करोड रुपैयाँ भने आँखुखोला १ आयोजना निर्माणका लागि बैंकबाट लिएको दीर्घकालिन ऋणको आंशिक भुक्तानीमा प्रयोग गरिनेछ।

प्रतिक्रिया