वीरगञ्ज — वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले यस कार्यालयलाई चालु वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ।
भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व संकलन भएको छ। चालु आवको साउनमा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा ४ अर्ब ३६ करोड र कात्तिकमा ३ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
त्यस्तै, मंसिरमा २ अर्ब २२ करोड, पुसमा ३ अर्ब ५६ करोड, माघमा ४ अर्ब २९ करोड तथा फागुनमा ४ अर्ब ६८ करोड रुपैयाँ संकलन भएको छ। आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुन महिनामा संकलन भएको छ।