विदेशी लगानी भित्राउन सहज - सूचीकृत कम्पनीमा लगानी गर्न स्वीकृति नचाहिने

काठमाडौं - विदेशी लगानी नेपाल भित्राउनको लागि केही सहज बनेको छ । नेपाल राष्ट्र बैंकले शेयर बजारमा सुचिकृत कम्पनीमा विदेशी लगानी भित्र्याउन आफुहरुसंग स्वीकृति लिनुनपर्ने व्यवस्था गरेको छ। विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा तेस्रो पटक संसोधन गर्दै राष्ट्र बैकले यस्तो व्यवस्था गरेको हो। 

बिभिन्न तीन कारण भएमा बिदेशी लगानी ल्याउनलाई नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको हो। जसमा धितोपत्र बोर्डमा स्वीकृत संस्थामा वैदेशिक लगानी भित्र्याउन स्वीकृति नचाहिने व्यवस्था गरेको हो । यसअघि नेपालमा कुनै पनि वैदेशिक लगानी ल्याउनलाई राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको थियो। 

विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को तेस्रो संसोधनको दफा चार को उपदफा तीनमा दोस्रो बुंदामा यस्तो व्यवस्था गरिएको छ। जहाँ भनिएको छ, धितोपत्र बजारमा सुचिकृत कम्पनीमा हुने विदेशी लगानीको लागि नेपाल राष्ट्र बैकको स्वीकृति लिनु पर्ने छैन। 

यसैगरी औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुण उद्योगमा पनि विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । संसोधित व्यवस्था अवनुरुप राष्ट्र बैंकले तोकेको प्रक्रिया पुर्याई सम्बन्धित कम्पनी वा उद्योगको खातामा विदेशी लगानीबापतको रकम जम्मा गर्न सकिने छ ।

यसैगरी तोकिएको अवधिभित्र विदेशी लगानी भित्र्याउन नसकेमा विदेशी लगानी स्वीकृत गर्ने निकायबाट अवधि थप गरिएको स्वीकृति समेत पेस गर्नुपर्ने व्यवस्था संशोधित विनियमावलीमा गरिएको छ । विनिमय दरका कारण स्वीकृत विदेशी लगानी रकमभन्दा बढी भित्रिएको रकम फिर्ता पठाउन अनिवार्य हुने छैन भने यस्तो बढी भित्रिएको रकम समेतलाई खाम्ने गरी विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त भएपश्चात् लेखांकनसम्बन्धी अन्य व्यवस्थाहरुको पालना हुने गरी विदेशी लगानीको रुपमा लेखांकङ्कन गर्न सकिने प्रावधान संशोधित विनियमावलीमा गरिएको छ । Bizpati को सहयोगमा 

प्रतिक्रिया