काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै ३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको जानकारी दिएको छ। बैंकले पुस मसान्तसम्ममा ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशतले बढी हो। यसअघिको सोही अवधिमा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशतले घटेको भए पनि इम्पेरमेन्ट चार्जमा भएको कमीका कारण खुद नाफा बढेको हो। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब १३ करोड ६० लाख रुपैयाँबाट घटेर २ अर्ब २० करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १७.३४ प्रतिशतले वृद्धि भएको छ, तर कुल सञ्चालन आम्दानी भने ४.४१ प्रतिशतले घटेको छ। त्यसैगरी, सञ्चालन मुनाफा ४७.८८ प्रतिशतले बढ्न पुगेको छ।
बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २ पैसामा पुगेको छ, जुन गत वर्षभन्दा ४ रुपैयाँ ७१ पैसा बढी हो। बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.८६ गुणा रहेको छ।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४९ पैसा रहेको छ।
बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकले ५ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।