काठमाडौं । प्रभु बैंक लिमिटेडले ग्राहकलाई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले आकर्षक घर कर्जा (होम लोन) तथा सवारी साधन कर्जा (अटो लोन) योजना सार्वजनिक गरेको छ।
बैंकले आफ्ना देशभरका ३०० शाखा तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत विभिन्न बैंकिङ सेवा दिँदै आएको जनाउँदै ग्राहकको वित्तीय आवश्यकता सहज र किफायती रूपमा पूरा गर्ने उद्देश्यले नयाँ कर्जा योजना ल्याएको जनाएको छ।
नयाँ योजनाअन्तर्गत घर कर्जामा अधिकतम ३ करोड रुपैयाँसम्मको सुविधा उपलब्ध हुनेछ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहने बैंकले जनाएको छ। घर कर्जामा सेवा शुल्क ०.४० प्रतिशत तथा ब्याजदर औसत आधार दर (एभरेज बेस रेट) मा थप ०.४० प्रतिशत मात्र कायम गरिएको छ।
यो सुविधा देशभरका बैंकका ३०० शाखामार्फत उपलब्ध हुने जनाइएको छ। घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतका साथै घर निर्माणका लागि जग्गा खरिद गर्न चाहने ग्राहकले समेत यस योजनाबाट वित्तीय सुविधा लिन सक्नेछन्।
त्यस्तै, बैंकले व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै अटो लोन योजना पनि सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत अधिकतम ७ वर्षसम्मको कर्जा सुविधा उपलब्ध हुनेछ।
अटो लोनमा समेत सेवा शुल्क ०.४० प्रतिशत कायम गरिएको छ भने ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ। कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेस भएको दुई कार्यदिनभित्रै डेलिभरी अर्डर (डीओ) उपलब्ध हुने व्यवस्था गरिएको बैंकको भनाइ छ।
प्रभु बैंकले ग्राहकलाई छिटो, सरल तथा पारदर्शी कर्जा प्रक्रिया र गुणस्तरीय सेवा प्रदान गर्न निरन्तर प्रयासरत रहेको जनाएको छ। बैंकका अनुसार घर तथा सवारी साधन कर्जासम्बन्धी थप जानकारीका लागि नजिकको प्रभु बैंक शाखा वा बैंकको वेबसाइटमार्फत जानकारी लिन सकिनेछ।