कृषि क्षेत्रमा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता

चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) को प्रतिबद्धता उल्लेख्य रूपमा बढेको देखिएको छ। Department of Industry Nepal ले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि फागुन मसान्तसम्म कुल ४० अर्ब ६६ करोड ९३ लाख रुपैयाँभन्दा बढी विदेशी लगानीको प्रतिबद्धता प्राप्त भएको छ। यस अवधिमा ५५४ वटा नयाँ वैदेशिक लगानीका आयोजना स्वीकृत भएका छन्।

प्रतिबद्धता रकमका हिसाबले कृषि तथा वन पैदावारमा आधारित क्षेत्र विदेशी लगानीकर्ताको प्रमुख रोजाइ बनेको छ। यस क्षेत्रमा मात्र २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ अर्थात कुल प्रतिबद्धताको झण्डै ५४ प्रतिशत लगानी आउने प्रतिबद्धता भएको छ। त्यसपछि पर्यटन क्षेत्रमा ११ अर्ब २ करोड ५ लाख रुपैयाँ (२७ प्रतिशत) लगानीको प्रतिबद्धता आएको छ।

यसैगरी सेवामूलक क्षेत्रमा ३ अर्ब ६२ करोड ८० लाख रुपैयाँ (९ प्रतिशत), उत्पादन क्षेत्रमा २ अर्ब ५२ करोड ५६ लाख रुपैयाँ (६ प्रतिशत) तथा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ (३ प्रतिशत) लगानीको प्रतिबद्धता देखिएको छ। ऊर्जा क्षेत्रमा १८ करोड ४२ लाख रुपैयाँ र खनिज क्षेत्रमा ११ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ भने पूर्वाधार क्षेत्रमा भने यस अवधिमा कुनै लगानी प्रतिबद्धता देखिएको छैन।

आयोजनाको संख्यात्मक आधारमा भने सूचना प्रविधि क्षेत्र अगाडि देखिएको छ। स्वीकृत ५५४ आयोजनामध्ये ३०७ वटा आयोजना सूचना प्रविधिसँग सम्बन्धित छन्। पर्यटन क्षेत्रमा १५५ वटा आयोजना, सेवामूलक क्षेत्रमा ३८ वटा र उत्पादन क्षेत्रमा ३७ वटा आयोजना स्वीकृत भएका छन्। कृषि क्षेत्रमा १४, खनिज क्षेत्रमा २ र ऊर्जा क्षेत्रमा १ वटा आयोजना दर्ता भएका छन्।

उद्योगको आकारका आधारमा साना उद्योगहरूको प्रभुत्व देखिएको छ। कुल स्वीकृत आयोजनामध्ये ५३७ वटा साना उद्योग छन् भने मझौला उद्योग ८ र ठूला उद्योग ९ वटा मात्रै रहेका छन्। प्रस्तावित परियोजनाहरू कार्यान्वयनमा आएमा करिब २१ हजार ४९५ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।

फागुन महिनामा मात्र ३८ करोड ६० लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ। सो अवधिमा ३० वटा नयाँ आयोजना स्वीकृत भएका छन् र ती परियोजनाबाट २५९ जनालाई रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

त्यसैगरी विभागले फागुन महिनामा विभिन्न शीर्षकमा विदेशी नागरिकका लागि भिसा सिफारिस पनि गरेको छ। यसमा ७७ जना लगानीकर्ता, ५ जना व्यावसायिक भिसा, १८ जना प्रतिनिधि र ४२ जना आश्रित समावेश छन्। चालू आर्थिक वर्षको आठ महिनामा विभागले कुल १४५९ व्यावसायिक भिसा, २२० लगानीकर्ता भिसा र ४७१ आश्रित भिसा सिफारिस गरिसकेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने केही भिसा सिफारिसको संख्यामा कमी आएको देखिएको छ।

विदेशी लगानीकर्ताले नेपालबाट लाभांश तथा रोयल्टी फिर्ता लैजाने प्रक्रिया पनि जारी रहेको छ। फागुन महिनामा मात्रै २६ करोड ५६ लाख रुपैयाँ बराबरको लाभांश विदेश लैजान स्वीकृति दिइएको छ। त्यस्तै रोयल्टी बापत ३५ करोड २० लाख रुपैयाँभन्दा बढी तथा सेवा शुल्क बापत १ लाख १३ हजार अमेरिकी डलर विदेश पठाउन सिफारिस गरिएको विभागले जनाएको छ।

समग्र तथ्यांकले पछिल्लो समय कृषि र पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको चासो बढ्दै गएको तथा साना उद्योगहरूमा वैदेशिक लगानीको हिस्सा ठूलो रहेको देखाएको छ।

प्रतिक्रिया