आज हरिशयनी एकादशी, तुलसीको विशेष पूजा आराधना सुरु

काठमाडौं । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा आजदेखि सनातन वैदिक परम्पराअनुसार चतुर्मास व्रत तथा तुलसीको विशेष पूजा–आराधना सुरु भएको छ।

परम्पराअनुसार ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको दल आज घर–घरका तुलसीको मोठमा सारिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म चार महिनासम्म तुलसीको विशेष पूजा गर्ने धार्मिक परम्परा रहेको छ। सनातन धर्ममा तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गरिन्छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने धार्मिक विश्वास रहेकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। यही चार महिनाको अवधिलाई चतुर्मासका रूपमा पनि चिनिन्छ।

वैदिक परम्पराअनुसार वर्षभर २४ वटा एकादशी पर्ने भए पनि धेरै भक्तजनले चतुर्मासका आठ एकादशीमा व्रत बस्ने गर्छन्। चार महिनासम्म नियमित व्रत बस्न नसक्नेहरूले भने हरिशयनी र हरिबोधिनी एकादशीमा फलाहार गरी व्रत गर्ने प्रचलन रहेको छ। एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार सेवन गर्ने परम्परा छ।

हरिशयनी एकादशीका अवसरमा काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण मन्दिरसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ।

धार्मिक महत्वसँगै तुलसीलाई औषधीय गुणले भरिपूर्ण वनस्पतिको रूपमा पनि लिइन्छ। वैज्ञानिक अध्ययनले तुलसीले वातावरण शुद्ध बनाउन र अक्सिजनको मात्रा बढाउन सहयोग गर्ने देखाएको छ। साथै, तुलसी रोपिएको स्थानमा सकारात्मक ऊर्जा प्रवाह हुने तथा रोग फैलाउने केही प्रकारका कीटाणुको प्रभाव कम हुने जनविश्वास पनि रहँदै आएको छ।

चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीको हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग वैदिक विधिअनुसार विवाह गराउने परम्परा छ। सो अवसरमा चतुर्मास व्रतको समापन गर्दै अग्निस्थापना र हवनसमेत गर्ने धार्मिक विधि रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय