कालिकोट । पलाँता गाउँपालिका–थिर्पुस्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पतालमा तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पलाँता गाउँपालिका–९ थिर्पुका ३५ वर्षीय सुशील बम, ३२ वर्षीया मैना बम र ३० वर्षीय तपेन्द्र बम रहेका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार उनीहरूलाई घटनामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो सुशील बम र मैना बमले अस्पतालका मेडिकल अधिकृत डा. अली हैदर रैन तथा नर्स शान्ता गिरीमाथि कुटपिट र दुर्व्यवहार गरेका थिए।
त्यसपछि राति तपेन्द्र बम अस्पताल प्रवेश गरी अहेव विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनमाथि कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गरेको प्रहरीले जनाएको छ। तोडफोडबाट भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पंखा, झ्याल, फार्मेसीमा औषधि राखिएका दराज तथा र्याकलगायतका सामग्रीमा क्षति पुगेको जनाइएको छ।
अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको विषयमा विवाद सुरु भएपछि चिकित्सक र नर्समाथि कुटपिट भएको र त्यसै घटनाको निरन्तरतामा राति अस्पतालमा प्रवेश गरी कर्मचारीमाथि आक्रमण तथा तोडफोड गरिएको प्रहरीको भनाइ छ।
घटनामा संलग्न एक बालकलाई समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।