लगातार चौथो दिन नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्दो

काठमाडाैं - नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन पनि घटेर बन्द भएको छ। पछिल्ला तीन दिनदेखि लगातार गिरावट आइरहेको नेप्से सोमबार १२.८४ अंकले घटेर २६७६.१५ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स, र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि क्रमशः १.३६, ०.८३, र ०.५२ अंकले घटेका छन्।

कारोबार रकममा पनि कमी आएको छ। सोमबार ३१७ स्टकको ६२ हजार ७५८ पटकको कारोबारबाट ५ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ, जुन अघिल्लो दिनको ७ अर्बको कारोबारभन्दा कम हो।

यस दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य सबैभन्दा बढी ८.७६ प्रतिशतले बढेको छ। महिला लघुवित्तको मूल्य ७ प्रतिशतभन्दा बढी बढ्दा, सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ६.११ प्रतिशतले वृद्धि भएको छ। तर, स्वाभिमा लघुवित्तको शेयर नकारात्मक सर्किटमा २३७ रुपैयाँ ९० पैसाले घटेर २१४१ रुपैयाँ १० पैसामा बन्द भएको छ।

खानीखोला हाइड्रोपावरको मूल्य पनि ८.२१ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट अग्रस्थानमा रहेको छ, जसको ३५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। हिमालयन डिष्टिलरीले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश घोषणा गरेपछि करिब २८ करोडको कारोबार भएको छ।

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढ्दा ८ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी १.०६ प्रतिशतले बढेको छ। जीवन बीमा, निर्जीवन बीमा, र व्यापार उपसमूह भने १ प्रतिशतभन्दा बढीले घटेका छन्।

प्रतिक्रिया