रवि लामिछाने अमानवीय अवस्थामा राखिएको आयोगको दाबी

भैरहवा कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अवस्थाबारे राष्ट्रिय मानवअधिकार आयोगको टोलीले स्थलगत अनुगमन गरी गम्भीर समस्या रहेको निष्कर्ष निकालेको छ। आयोगका अनुसार कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी छन् र आधारभूत मानवीय सुविधा अभावमा कैदीबन्दी राखिएका छन्।

आयोगले लामिछानेलाई अमानवीय र न्यूनतम सुविधा विहीन अवस्थामा राखिएको जनाएको छ। उनको कोठामा खुला शौचालय, प्लाइउडले पूरै बन्द गरिएको झ्याल, र सूचनाको पहुँच अभाव रहेको पाइएको हो। कोठामा एसी छैन, केवल एक ठूलो स्ट्यान्ड पंखा र एक टेबल पंखा मात्र उपलब्ध छ। कारागार प्रशासनले सुरक्षा कारण देखाउँदै झ्याल बन्द गरेको भए पनि आयोगको आग्रहपछि हावाको लागि खोल्ने प्रतिबद्धता जनाएको छ।

लामिछानेलाई पत्रपत्रिका पढ्न दिइएको छैन, तर सानो रेडियो भने छ। उनले खानाप्रति सन्तुष्टि व्यक्त गरेका छन्। तर, अदालतको आदेशअनुसार उनलाई अन्यत्र स्थानान्तरण गर्ने निर्णय सरकारद्वारा कार्यान्वयन नभएको आयोगले गम्भीर रूपमा उल्लेख गरेको छ।

अनुगमन टोलीका अनुसार २५० जनाको क्षमता भएको भैरहवा कारागारमा ७०० भन्दा बढी कैदीबन्दी छन्। पर्याप्त शौचालय छैनन् र भएका पनि अत्यन्त फोहोर छन्। स्रोतसाधन र पूर्वाधारमा सरकारी उदासीनताका कारण कैदीबन्दीहरू न्यूनतम मानवीय अधिकारबाट वञ्चित हुनुपरेको आयोगको निष्कर्ष छ। क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिनु नै मानवअधिकारको गम्भीर उल्लंघन भएको आयोगले ठहर गरेको छ।

प्रतिक्रिया