चालु आर्थिक वर्षको आठ महिनामा ११ खर्ब ४५ अर्बको आयात

काठमाडौं । पछिल्ला महिनाहरूमा नेपालमा आयातको परिमाण बढ्दै गएको छ, जसले अर्थतन्त्रमा सुधारको संकेत दिएको छ । फागुन महिनामा मात्रै १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

गत पुस महिनामा २०७७ सालपछि सबैभन्दा उच्च १ खर्ब ६० अर्ब ८९ करोड रुपैयाँ बराबरको आयात भएको थियो । त्यसपछि माघ महिनामा आयातको परिमाण झन् वृद्धि हुँदै १ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ पुगेको थियो । फागुन महिनामा भने १ खर्ब ५६ अर्ब ९७ करोड रुपैयाँको आयात भएको छ ।

२०७७ मंसिरमा नेपालमा एक महिनामै १ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँ बराबरको आयात पुगेपछि नेपाल राष्ट्र बैंकले आयातमा नगद मार्जिन अनिवार्य गरेको थियो भने सरकारले विलासिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनासम्म कुल आयात ११ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.२ प्रतिशत बढी हो । अघिल्लो वर्ष सोही अवधिमा १० खर्ब ३० अर्ब रुपैयाँको आयात भएको थियो ।

यस्तै, फागुनसम्म १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५७ प्रतिशतले वृद्धि भएको हो ।

विद्युतीय सामग्री लगायतका वस्तुको आयात उल्लेख्य रूपमा बढेको आयातकर्ता व्यवसायीहरूले बताएका छन् । ब्याजदर सस्तो हुँदा उपभोग बढेको र शेयर तथा घरजग्गा बजार सुस्त हुँदा लगानी गर्ने विकल्पहरू सीमित भएकाले पनि आयात वृद्धि भएको विश्लेषण गरिएको छ ।

विगतका महिना अनुसारको आयात विवरण

महिना आयात रकम (खर्बमा)
२०७७ असार १.५६
२०७७ साउन १.५१
२०७७ भदौ १.६५
२०७७ असोज १.६४
२०७७ कात्तिक १.७२
२०७७ मंसिर १.८८
२०७७ पुस १.६१
२०७७ माघ १.४८
२०७७ फागुन १.६१
२०७७ चैत १.५८
२०७८ वैशाख १.३८
२०७८ जेठ १.५९
२०७८ असार १.५७
२०७८ साउन १.३१
२०७८ भदौ १.४२
२०७८ असोज १.२७
२०७८ कात्तिक १.३२
२०७८ मंसिर १.३२
२०८१ साउन १.२८
२०८१ भदौ १.३४
२०८१ असोज १.२८
२०८१ कात्तिक १.२३
२०८१ मंसिर १.४८
२०८१ पुस १.६१
२०८१ माघ १.६६
२०८१ फागुन १.५७

प्रतिक्रिया