काठमाडौं । पछिल्ला महिनाहरूमा नेपालमा आयातको परिमाण बढ्दै गएको छ, जसले अर्थतन्त्रमा सुधारको संकेत दिएको छ । फागुन महिनामा मात्रै १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
गत पुस महिनामा २०७७ सालपछि सबैभन्दा उच्च १ खर्ब ६० अर्ब ८९ करोड रुपैयाँ बराबरको आयात भएको थियो । त्यसपछि माघ महिनामा आयातको परिमाण झन् वृद्धि हुँदै १ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ पुगेको थियो । फागुन महिनामा भने १ खर्ब ५६ अर्ब ९७ करोड रुपैयाँको आयात भएको छ ।
२०७७ मंसिरमा नेपालमा एक महिनामै १ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँ बराबरको आयात पुगेपछि नेपाल राष्ट्र बैंकले आयातमा नगद मार्जिन अनिवार्य गरेको थियो भने सरकारले विलासिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनासम्म कुल आयात ११ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.२ प्रतिशत बढी हो । अघिल्लो वर्ष सोही अवधिमा १० खर्ब ३० अर्ब रुपैयाँको आयात भएको थियो ।
यस्तै, फागुनसम्म १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५७ प्रतिशतले वृद्धि भएको हो ।
विद्युतीय सामग्री लगायतका वस्तुको आयात उल्लेख्य रूपमा बढेको आयातकर्ता व्यवसायीहरूले बताएका छन् । ब्याजदर सस्तो हुँदा उपभोग बढेको र शेयर तथा घरजग्गा बजार सुस्त हुँदा लगानी गर्ने विकल्पहरू सीमित भएकाले पनि आयात वृद्धि भएको विश्लेषण गरिएको छ ।
| महिना | आयात रकम (खर्बमा) |
|---|---|
| २०७७ असार | १.५६ |
| २०७७ साउन | १.५१ |
| २०७७ भदौ | १.६५ |
| २०७७ असोज | १.६४ |
| २०७७ कात्तिक | १.७२ |
| २०७७ मंसिर | १.८८ |
| २०७७ पुस | १.६१ |
| २०७७ माघ | १.४८ |
| २०७७ फागुन | १.६१ |
| २०७७ चैत | १.५८ |
| २०७८ वैशाख | १.३८ |
| २०७८ जेठ | १.५९ |
| २०७८ असार | १.५७ |
| २०७८ साउन | १.३१ |
| २०७८ भदौ | १.४२ |
| २०७८ असोज | १.२७ |
| २०७८ कात्तिक | १.३२ |
| २०७८ मंसिर | १.३२ |
| २०८१ साउन | १.२८ |
| २०८१ भदौ | १.३४ |
| २०८१ असोज | १.२८ |
| २०८१ कात्तिक | १.२३ |
| २०८१ मंसिर | १.४८ |
| २०८१ पुस | १.६१ |
| २०८१ माघ | १.६६ |
| २०८१ फागुन | १.५७ |