नेपालको अर्थतन्त्र सुधार हुँदै,यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सही दिशामा रहेको सन्देश प्रवाह गरेको छ । पछिल्लो समय अर्थतन्त्रमा समस्या भएको भन्दै विभिन्न बहस, छलफल तथा चिन्ता व्यक्त गरिरहेको बेला राष्ट्र बैंकले भने अर्थतन्त्र सही दिशामा रहेको र आगामी दिनमा थप सुधार हुने संकेत देखिएको बताएको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनासम्मको तथ्यांक सार्वजनिक गर्दै अर्थतन्त्र सुधारको गतिमा रहेको बताएको हो । मुख्य समस्यामा रहेको महँगी घट्दै गइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको तथ्यांकले महँगी घटेको देखिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ ।

२०८० पुस महिनामा घ्यूतथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप-समूहको सूचकाङ्कमा समेत क्रमशः कमी आइरहेको अवस्था छ ।

वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकाङ्क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्कको वृद्धि दरमा समेत कमी आएको छ । फलस्वरुप समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मक रुपमा कम दबाब पर्न गएको राष्ट्र बैंकको भनाइ छ ।

२०८० पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.८२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ६.१६ प्रतिशत, १.९९ प्रतिशत र २.७१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १.०८ प्रतिशतले घटेको छ ।

भारततर्फको व्यापार घट्दा चिनतर्फको बढ्यो

चालु आर्थिक वर्षको ६ महिनामा गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १२.८ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३७०.९ प्रतिशत र १.३ प्रतिशतले वृद्धि भएको छ । ६ महिनामा कुल वस्तु निर्यात ७.२ प्रतिशतले कमी आई ७४ अर्ब ९७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३२ प्रतिशतले कमी आएको थियो । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै, आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा कुल वस्तु आयात ३.१ प्रतिशतले कमी आई ७६८ अर्ब १७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो । मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.४ प्रतिशत र २५.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ प्रतिशतले बढेको छ ।

७ खर्ब ३३ अर्ब आयो रेमिट्यान्स

चालु आर्थिक वर्षमा रेमिट्यान्स २५.३ प्रतिशत बढेर ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई ७ खर्ब ९९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.७ प्रतिशतले बढेको थियो ।

सोधानान्तर स्थिति पौने ३ खर्बले बचतमा

चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमाससम्म सोधानान्तर स्थिति पौने ३ खर्बले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुससम्म शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा छ ।

समीक्षा अवधिमा चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २१ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३० प्रतिशतले कमी आई ३ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५३ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ४३ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख रुपैयाँले धनात्मक रहेको थियो ।

सवा १८ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति

विदेशी मुद्रा सञ्चिति १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । ६ महिनामा विदेशी मुद्राको सञ्चिति १८ प्रतिशत बढेको हो । गत असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिती थियो । राष्ट्र बैंकका अनुसा अमेरिकी डलरमा असारसम्म ११ अर्ब ७१ करोड रहेको थियो भने पुसमा १६.९ प्रतिशतले वृद्धि भई १३ अर्ब ६९ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ६ महिनामा १८.९ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ करोड रुपैयाँ पुगेको छ । गत असारमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ थियो । बैंक तथा वित्तीय संस्था ११.८ प्रतिशतले वृद्घि भई २ खर्ब १६ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ । गत असारसम्म १ खर्ब ९३ अर्ब ५९ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.८ प्रतिशत, १००.९ प्रतिशत र २७.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

खर्च बढ्दै, आम्दानी घट्दै

आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा नेपाल सरकारको कुल खर्च ५ खर्ब ६६ अर्ब ६२ रुपैयाँ करोड भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो ६ महिनामा १३.७ प्रतिशतले वृद्घि भएकोमा, समीक्षा अवधिमा १.७ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा चालु खर्च रु.४३७ अर्ब ३८ करोड, पुँजीगत खर्च रु.४९ अर्ब २४ करोड र वित्तीय व्यवस्था खर्च ८० अर्ब रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ४ खर्ब ९६ अर्ब ५० करोड भएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा १५.३ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ८.२ प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व ४ खर्ब ४३ अर्ब ५५ करोड र गैर कर राजस्व ५२ अर्ब ९५ करोड रुपैयाँ परिचालन भएको छ ।

ब्याज पनि घट्दै

चालु आर्थिक वर्षको ६ महिनामा बैंकको ब्याज घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ६ महिनासम्म ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १०.८९ प्रतिशत रहेकोमा २०८० पुसमा ३.३७ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार ट्रेजरी बिलको भारित औसत ब्याजदर ६९ प्रतिशतले घटेको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ पुसमा ७.५३ प्रतिशत रहेकोमा २०८० पुसमा २.८६ प्रतिशत रहेको छ । अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर ६० प्रतिशतले घटेको छ ।

चालु आवको पुससम्ममा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत, विकास बैंकहरुको ११.४९ प्रतिशत र वित्त कम्पनीहरुको १२.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.९१ प्रतिशत रहेको थियो । बैंकहरूको आधारदर १४.२९ प्रतिशतले घटेको छ ।

यस्तै, बैंकको निक्षेपको ब्याजदर पनि १४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । २०८० पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.३२ प्रतिशत, विकास बैंकहरुको ८.५५ प्रतिशत र वित्त कम्पनीहरुको ९.६२ प्रतिशत रहेको छ । २०७९ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.५१ प्रतिशत कायम भएको थियो । बैंकमा निक्षेप राखेर ब्याजबाट आम्दानी गर्नेहरूको आम्दानी पनि घट्दै गएको देखिन्छ ।

यस्तै, कर्जाको भारित औसत ब्याजदर २०८० पुसमा वाणिज्य बैंकहरुको ११.३८ प्रतिशत, विकास बैंकहरुको १३.१४ प्रतिशत र वित्त कम्पनीहरुको १४.०९ प्रतिशत रहेको छ । २०७९ पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.७९ प्रतिशत कायम भएको थियो । राष्ट्र बैंकका अनुसार कर्जाको ब्याजदर औसत ११ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको ३ खर्ब ७७ अर्ब ७ करोड रुपैयाँ (६.६ प्रतिशत) ले निक्षेप बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब १५ अर्ब १४ करोड रुपैयाँले (४.२ प्रतिशत) निक्षेप बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ ।

यस्तै, यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ (४.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ३७ अर्ब ३३ करोड रुपैयाँ (३.० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ ।

यस्तै, आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा वाणिज्य बैंकहरुको २३ खर्ब १६ अर्ब ९८ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को २ खर्ब ५७ अर्ब २२ करोड गरी कुल २५ खर्ब ७४ अर्ब २० करोडको अन्तर-बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको १८ खर्ब ४३ अर्ब ८ करोड र अन्य वित्तीय संस्थाहरुको १ खर्ब ८२ अर्ब ४ करोड गरी कुल २० खर्ब २५ अर्ब १२ करोडको अन्तर बैंक कारोबार भएको थियो ।

प्रतिक्रिया