दसैँको समयमा त्रिभुवन विमानस्थलमा ६३ हजारभन्दा बढीले गरे हवाई यात्रा

काठमाडौँ — दसैँको दुई दिन (असोज २४ र २५ गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन्। फूलपाती र महाअष्टमी/महानवमीको दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गरी यी यात्रुहरूले यात्रा गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, असोज २४ गते आन्तरिकतर्फ तीन सय एक उडानमार्फत १७ हजार तीन सय २९ जनाले र असोज २५ गते दुई सय ७८ उडानमार्फत १४ हजार चार सय ३६ जनाले हवाई यात्रा गरेका छन्। यसरी कुल ३१ हजार सात सय ६५ जनाले आन्तरिक उडानमार्फत यात्रा गरेका छन्।

अन्तर्राष्ट्रिय उडानतर्फ, असोज २४ गते एक सय सात उडानमार्फत १६ हजार पाँच सय नौ जनाले र असोज २५ गते पनि एक सय सात उडानमार्फत १४ हजार नौ सय ६८ जनाले यात्रा गरेका छन्। यसरी अन्तर्राष्ट्रिय उडानबाट कुल ३१ हजार चार सय ७७ जनाले हवाई यात्रा गरेका छन्। यी यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवै समावेश गरी दिइएको हो।

यसअघि, असोज १४ गते आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी पाँच सय ५९ उडान भएका थिए, जसबाट ३५ हजार सात सय चार जनाले यात्रा गरेका थिए। असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि हवाई उडानमा चाप देखिएको थियो।

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानको चाप बढेपछि टर्मिनल भवन यात्रुहरूले खचाखच भरिएको थियो। तर अहिले हवाई उडानहरू सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ।

प्रतिक्रिया