अदालतमा विशेष महाधिवेशनको प्रतिरक्षा गर्छौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नेतृत्वमा सम्पन्न विशेष महाधिवेशन विधानसम्मत रहेको दाबी दोहोर्‍याएका छन्। उनले विशेष महाधिवेशनको वैधानिकता अदालतसमक्ष पुनः पुष्टि गर्न आफूहरू तयार रहेको बताएका छन्।

पार्टी निकट आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले अदालतले विशेष महाधिवेशनको वैधानिकताबारे पुनः सुनुवाइ गर्ने अवस्था सिर्जना गरेकाले त्यसलाई अवसरका रूपमा लिएको बताए।

उनले आगामी २४ गते बस्ने पार्टी केन्द्रीय समिति बैठकमा अदालतको आदेशबारे विस्तृत छलफल गरी पार्टीको धारणा तय गर्ने जानकारी दिए। यस विषयमा तत्काल हतार गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

थापाले पार्टी विधानमा रहेको व्यवस्थाअनुसार सार्वभौम सदस्यहरूले आफ्नो अधिकार प्रयोग गरेर विशेष महाधिवेशन आयोजना गरेको दाबी गरे। उनका अनुसार विशेष महाधिवेशन आवश्यकसमेत थियो र त्यसलाई आयोजना गर्ने अधिकार पनि विधानले दिएको थियो।

‘पार्टीको विधानमा भएको व्यवस्थालाई सार्वभौम सदस्यले प्रयोग गरेर विशेष महाधिवेशन गरेका हौँ। विशेष महाधिवेशन आवश्यक पनि थियो, गर्न पाउने अधिकार पनि थियो,’ थापाले भने।

विशेष महाधिवेशनको वैधानिकता महाधिवेशनकै हलबाट पुष्टि भएको र त्यसपछि निर्वाचन आयोग तथा सर्वोच्च अदालतको इजलासबाट समेत पुष्टि भएको उनले बताए।

अदालतले पुनः वैधानिकताको परीक्षण गर्ने अवसर दिएको भन्दै थापाले अदालतको प्रक्रियामा सम्मानपूर्वक सहभागी भएर विशेष महाधिवेशनको पक्षमा प्रतिरक्षा गर्ने स्पष्ट पारे।

‘फेरि पुष्टि गर्नुपर्छ भनेर अदालतले भनेको सन्दर्भमा विशेष महाधिवेशन वैधानिक थियो भनेर पुष्टि गर्ने अर्को अवसर प्राप्त गरेको रूपमा मैले बुझेको छु। अदालतको प्रक्रियामा शानका साथ सहभागी हुन्छौँ र प्रतिरक्षा गर्नेछौँ,’ उनले भने।

प्रतिक्रिया