काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। भन्सार विभाग का अनुसार समीक्षा अवधिमा कुल वैदेशिक व्यापार १३.५५ प्रतिशतले बढेर १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ पुगेको हो।
यस अवधिमा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.५४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँको आयात भएको थियो। फागुन महिनामा मात्रै १ खर्ब ६५ अर्ब ७६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको देखिन्छ।
निर्याततर्फ पनि सुधार देखिएको छ। समीक्षा अवधिमा १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २०.८३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा निर्यात १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँमा सीमित थियो।
तथ्यांक अनुसार आयात–निर्यात अनुपातमा समेत सुधार आएको छ। अघिल्लो वर्ष १ रुपैयाँ बराबरको निर्यात हुँदा ७.२४ रुपैयाँ बराबरको आयात हुने गरेकोमा यस वर्ष उक्त अनुपात घटेर ६.७५ रुपैयाँ कायम भएको छ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्ष १२.१३ प्रतिशत रहेकोमा यस वर्ष बढेर १२.९१ प्रतिशत पुगेको छ। त्यस्तै, आयातको हिस्सा ८७.८७ प्रतिशतबाट घटेर ८७.०९ प्रतिशतमा झरेको छ। यसले नेपालको व्यापार संरचनामा क्रमिक सुधार देखिएको संकेत गर्दछ।