यूनाइटेड अजोड इन्स्योरेन्सको १०% हकप्रद शेयर आजदेखि बिक्री खुला

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज (चैत २६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

यसअनुसार कम्पनीले १०० कित्ता शेयर बराबर १० कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्नेछ । कम्पनीले कुल २३ करोड १० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ ।

हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुकक्लोज गरेको थियो । फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति २०८३ बैशाख १६ गते तोकिएको छ ।

कम्पनीले हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्वा प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया