काठमाडौँ — भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन्।
वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ इन्टरनेसनल होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी हुन्। उनी कम्प्युटर साइन्स विषयमा प्रथम वर्ष अध्ययनरत थिइन्। घटनाको पुष्टि त्यही कलेजमा अध्ययनरत अर्का नेपाली विद्यार्थीले गरेका छन्।
प्रिसाको मृत्युको कारण अझै खुलाइएको छैन भने भारतीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ।
यसअघि गत फागुन ४ गते सोही कलेजमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमै मृत फेला परेकी थिइन्। उनले आत्महत्या गर्नु अघि कलेज प्रशासनलाई आफूलाई मानसिक दुर्व्यवहार गरिएको र ब्ल्याकमेल गरिएको उजुरी दिएकी थिइन्। तर, प्रशासनले गम्भीर रूपमा नलिएपछि उनले ज्यान लिन बाध्य भएको आरोप लगाइएको थियो।
प्रकृतिको घटनापछि क्याम्पसमा रहेका नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन गरेका थिए। तर कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डहरूले प्रदर्शनकारी नेपाली विद्यार्थीमाथि दमन गरेका थिए। होस्टल छाड्न निर्देशन दिइएपछि वातावरण थप तनावग्रस्त बनेको थियो।
प्रतिक्रिया स्वरूप प्रशासनले पछि सार्वजनिक रूपमा माफी माग्नुपरेको थियो। त्यही समयको आसपास एक भारतीय विद्यार्थीको समेत मृत्यु भएको थियो।
लगातार घटिरहेका यस्ता घटनाले केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। From deshsanchar