साँखुमा दुर्घटना: सुतिरहेका तीन जनालाई टिप्परले किच्यो

काठमाडौं - काठमाडौँको साँखुमा आज बिहान टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शङ्खरापुर नगरपालिका–६ साँखु सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडक खण्डमा बिहान करिब ३:४० बजे बा२क ६५८० नम्बरको टिप्पर अनियन्त्रित भई द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा ठोक्किएको थियो।

उक्त टहरोमा ६१ जना बस्दै आएका थिए, जसमा टिप्परले ठक्कर दिएको कोठामा १० जना सुतेका थिए। ठक्करका कारण २१ वर्षीय आकाश, २१ वर्षीय सुमन, र ४५ वर्षीय हरिजन गम्भीर घाइते भएका थिए। उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा लगिए पनि उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

घटनापछि टिप्पर चालक सिन्धुपाल्चोक मेलम्चीका २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया