काठमाडौँ । खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनका कारण ११ नेपाली श्रमिकले ज्यान गुमाएका छन् भने करिब ४० जना बिरामी अस्पतालमा उपचाररत छन् । पछिल्ला चार दिनयता त्यस्तो घटनाले नेपाली समुदाय त्रसित बनेको छ ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार साल्मिया क्षेत्रमा रहेका नेपाली, भारतीयसहित अन्य देशका श्रमिकहरूले सेवन गरेको मदिरामा मिथानोल मिसिएको पाइएकाले यो दुर्घटना भएको हो । मिथानोल सामान्यतया औद्योगिक प्रयोगका लागि मात्र हुने भए पनि अवैध रूपमा मदिरामा प्रयोग गरिएकाले स्वास्थ्यमा घातक असर परेको हो ।
कुवेतको स्वास्थ्य मन्त्रालयले सोही घटनामा २३ विदेशी श्रमिकको मृत्यु भएको र १ सय ६० भन्दा बढी बिरामी परेकाे जनाएको छ । ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ५१ जनाको आपत्कालीन मृगौला डायलसिस भइरहेको छ । कतिपय बिरामीले दृष्टि गुमाउनेसम्मको समस्या भोग्नुपरेको जनाइएको छ ।
दूतावासले स्थानीय सरकार र नेपाली समुदायसँग निरन्तर समन्वय गर्दै उपचार, उद्धार र आवश्यक सहयोगको व्यवस्था मिलाइरहेको श्रम सहचारी गिरिप्रसाद आचार्यले जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयले पनि तत्काल दूतावासलाई सक्रिय रहन निर्देशन दिएको छ ।
यसैबीच, पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष एकराज मल्लले कुवेतमा कानुनी रूपमा मदिरा पूर्ण प्रतिबन्धित भए पनि लुकीछिपी हुने बिक्री वितरणका कारण यस्ता घटना दोहोरिँदै आएको बताए ।
कुवेतलगायत खाडीका अन्य मुलुकमा लाखौँ नेपाली श्रमिक कार्यरत छन् । तर, अवैध रूपमा मदिरा सेवन र बिक्री गर्ने गतिविधिका कारण नेपाली श्रमिकसमेत पटक–पटक पक्राउ पर्ने गरेको तथ्य सार्वजनिक हुँदै आएको छ ।