बैतडी जन्ती बस दुर्घटना : मृतक संख्या १३ पुग्यो

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। प्रारम्भमा ८ जनाको मृत्यु पुष्टि भए पनि उपचारका क्रममा थप ५ जनाको ज्यान गएपछि मृतक संख्या बढेको हो। सबै मृतकको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दुर्घटनामा परेकामध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडमा गएराति दुर्घटनामा परेको थियो। बस सडकबाट करिब दुई सय मिटर तल खस्दा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनामा बझाङ र बैतडीका विभिन्न स्थानका व्यक्तिहरूको ज्यान गएको छ, जसमा बालकदेखि वृद्धसम्म समावेश छन्।

प्रहरीका अनुसार घाइतेमध्ये २५ जनाको डडेलधुरा अस्पतालमा र ४ जनाको बझाङस्थित देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। थप ५ जनालाई गम्भीर अवस्थाका कारण धनगढी रिफर गरिएको छ। बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला बेहुला–बेहुली भने अर्को सवारीमा रहेकाले सकुशल रहेको जानकारी दिइएको छ।

प्रतिक्रिया