रसुवा । बुधबार बिहान तिब्बतबाट रसुवा प्रवेश गरेको विनाशकारी बाढीमा परी नौ सयभन्दा बढी बस तथा ट्रक बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार बाढीमा चार सयभन्दा बढी यात्रुवाहक सवारीसाधन र पाँच सयभन्दा बढी मालवाहक ट्रक बेपत्ता भएका छन्।
महासंघमा विभिन्न यातायात कम्पनीबाट हालसम्म २१९ वटा यात्रुवाहक गाडी बेपत्ता भएको विवरण प्राप्त भएको छ। अन्य कम्पनीबाट समेत विवरण आउने क्रम जारी रहेकाले यो संख्या अझ बढ्न सक्ने महासंघका महासचिव तथा प्रवक्ता टेकनाथ गौतमले बताएका छन्।
गौतमका अनुसार पर्यटन, तीर्थयात्री तथा सर्वसाधारण बोकेर विभिन्न गन्तव्यतर्फ गइरहेका चार सयभन्दा बढी यात्रुवाहक गाडी बाढीमा बेपत्ता भएको प्रारम्भिक अनुमान छ। मानसरोवर जाने तीर्थयात्री बोकेका मात्रै करिब ४० वटा गाडी बेपत्ता भएका छन्। यस्तै, ६० भन्दा बढी साना माइक्रोबससमेत बाढीमा हराएको प्रारम्भिक विवरण छ।
गोसाईंकुण्ड, मानसरोवरसहित रसुवा र नुवाकोटका विभिन्न गन्तव्यतर्फ गइरहेका सवारीसाधन बाढीमा परेका हुन्। ती सवारीसाधनमा रहेका यात्रुको संख्या भने अहिलेसम्म यकिन हुन सकेको छैन। महासंघका अनुसार चार सयभन्दा बढी चालक तथा सहचालकसमेत सम्पर्कविहीन छन्।
बेपत्ता तथा क्षतिको विवरण संकलन गर्न महासंघले कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिमा श्री श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, नरबहादुर राना र सुवन गिरी सदस्य छन्। समितिले शुक्रबारदेखि प्रभावित क्षेत्रमा पुगेर क्षतिको विवरण संकलन तथा बेपत्ता सवारीसाधन र व्यक्तिको खोजी गर्ने महासचिव गौतमले जानकारी दिए।
यस्तै, बाढीमा पाँच सयभन्दा बढी मालवाहक ट्रकसमेत बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ। व्यवसायीहरूका अनुसार चीनमा सामान लिन प्रवेश गरेका मात्रै करिब तीन सय ट्रक बाढीमा परेका छन्। विभिन्न सडकखण्डमा रहेका अन्य मालवाहक गाडीसमेत बाढीले बगाएको छ।
सीमाक्षेत्रमा भन्सार पासका लागि रोकिएका करिब दुई सय मालवाहक गाडीसमेत बेपत्ता भएको बताइएको छ। महासंघका अनुसार बस र ट्रक गरी कुल नौ सयभन्दा बढी गाडी बेपत्ता भएका छन् भने चार सयभन्दा बढी चालक तथा सहचालक सम्पर्कबाहिर छन्। थप विवरण संकलन भएपछि क्षतिको वास्तविक अवस्था अझ स्पष्ट हुने महासंघले जनाएको छ।