दैलेखको प्राकृतिक ग्यास मल र ऊर्जाका लागि उपयोगी

दैलेखमा फेला परेको प्राकृतिक ग्यासलाई बहुउपयोगी ऊर्जाको स्रोतका रूपमा प्रयोग गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ। चिनियाँ विज्ञ टोलीले भैरवी गाउँपालिका–१, जलजलेमा मिथेन ग्यास फेला पारेपछि नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायको संयोजकत्वमा बनेको सरकारी अध्ययन कार्यदलले उक्त ग्यासको उपयोगसम्भावनाबारे प्रतिवेदन तयार पारेको हो।

 

कार्यदलका संयोजक उपाध्यायका अनुसार दैलेखको ग्यास विद्युत् उत्पादन, रासायनिक मल (युरिया) निर्माण, खाना पकाउने ग्यास र यातायातमा इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ। उनले भने, “यो ग्यासलाई बहुप्रयोगी ऊर्जाका रूपमा उपयोग गर्न थप लगानी र प्राविधिक अध्ययन आवश्यक छ।”

 

समितिले ग्यासलाई विशेषगरी रासायनिक मल कारखानामा प्रयोग गर्न प्राथमिकता दिन सिफारिस गरेको छ। नेपालमा हालसम्म कुनै पनि मल उद्योग सञ्चालनमा नआएको उल्लेख गर्दै उपाध्यायले दैलेखको ग्यासले यो आवश्यकता पूरा गर्न सक्ने बताए।

 

प्रतिवेदन अनुसार करिब २२ सय मेट्रिक टन क्षमताको मल उद्योग सञ्चालन गर्न वार्षिक ४१० देखि ४५२ मिलियन घनमिटर ग्यास र दैनिक करिब २५–३० मेगावाट विद्युत् आवश्यक पर्ने देखिन्छ। ग्यासकै आधारमा पावर प्लान्ट निर्माण गर्न सुझाव दिइएको छ।

 

प्रारम्भिक अध्ययनले दैलेखमा करिब एक सय १२ अर्ब घनमिटर ग्यास रहेको अनुमान गरेको छ, जसले करिब ५० वर्षसम्म आपूर्ति गर्न सक्ने देखिएको छ। तर, सरकारको तर्फबाट हालसम्म उक्त ग्यासको उत्खनन र व्यावसायीकरण कसले गर्ने भन्ने विषयमा स्पष्ट निर्णय भएको छैन।

 

नेपालले हाल सबै ग्यास र पेट्रोलियम पदार्थ भारतबाट आयात गर्दै आएको अवस्थामा स्वदेशमै ठूलो परिमाणमा ग्यास फेला परेको खबरले आशा जगाएको छ। नेपाल आयल निगमले भने जिम्मेवारी पाएको खण्डमा दैलेखको ग्यास सदुपयोग गर्न तयार रहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय