काठमाडौं–सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपनी तथा ढल व्यवस्थापन प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरेका छन् । उनीहरूले कुशवाहालाई कालोमोसो दलेर नाङ्गै जनकपुरधाम परिक्रमा गराएका छन् । जनकपुरधामको ढल व्यवस्थापन र सरसफाईको व्यवस्थापनमा चासो नदेखाएको भन्दै जनमत पार्टीले कालोमोसो दलेर नगर परिक्रमा गराएको हो ।
उनीहरूले जनकपुरधामस्थित कार्यालय पुगेर ढल व्यवस्थापन किन भएन ? भनेर प्रश्न गरेका थिए । प्रमुख कुशवाहाले जनकपुरधाम उपमहानगरपालिकाको काम रहेको भनेपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि सो पार्टीका कार्यकर्ताले कुशवाहालाई कालोमोसो दलेका थिए । ढल निर्माणमा ढिलाइ र अनियमितता भएको बारे सोध्न जाँदा गैरजिम्मेवार ढंगले प्रस्तुत भएकाले कुशवाहालाई जनकारबाही गरिएको सो पार्टीका नेता नभरत्न साहले बताए ।
उनीहरूले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख लाल किसोर साहलाई पनि दुर्व्यवहार गर्न खोजेका थिए । तर, साहले खानेपानी तथा ढल व्यवस्थापनको क्षेत्राधिकार खानेपनी तथा ढल व्यवस्थापन कार्यालयको रहेको भनेर उम्किएका थिए । लगत्तै उनीहरू कुशवाहालाई खोज्दै सो कार्यालय पुगेका थिए ।
नगरपरिक्रमा गराउने क्रममा जनमत पार्टीका १ दर्जन बढी कार्यकर्ता पक्राउ परेका छन् । उनको रिहाइका लागि कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।