अहमदाबाद विमान दुर्घटनामा २०४ को ज्यान गयो, ४१ घाइते

काठमाडौँ — एयर इन्डियाको लन्डन गन्तव्यका लागि उडान भरिरहेको एआई–१७१ जहाज अहमदाबाद विमानस्थलनजिकै दुर्घटनाग्रस्त हुँदा २०४ जनाको ज्यान गएको पुष्टि भएको छ। टेकअफपछि छोटो समयमै बी–७८७ ड्रीमलाइनर जहाज दुर्घटनामा परेको हो।

अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले हालसम्म २०४ वटा शव संकलन गरिएको जानकारी दिएका छन्। उनका अनुसार केही व्यक्तिहरू जीवितै फेला पर्ने सम्भावना भए पनि अहिलेसम्म पुष्टि हुन सकेको छैन। घटनामा घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दिउँसो १:३८ बजे उडेको सो जहाजमा कुल २४२ जना सवार थिए, जसमा २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० जना यात्रु रहेका थिए। एयर इन्डियाका अनुसार तीमध्ये १६९ जना भारतीय नागरिक थिए, भने ५३ जना बेलायती, ७ जना पोर्चुगाली र १ जना क्यानाडाली यात्रु थिए।

जहाजका क्याप्टेन सुमीत सभरवालसँग ८,२०० घण्टाको र फर्स्ट अफिसर क्लाइभ कुन्दरसँग १,१०० घण्टाको उडान अनुभव रहेको भारतीय नागर विमानन महानिर्देशनालयले जनाएको छ। यस दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय