साहस उर्जाको आईपीओ निष्कासन हुने


काठमाडौं– विभिन्न कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गरिरहेको अवस्थामा साहस ऊर्जा लिमिटेडले पनि भोलीदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले ७० करोड रूपैयाँ बराबरको ७० लाख कित्ता प्राथमिक सेयर निष्कासन गर्न लागेको हो । निष्कासन गरिने प्रारम्भिक सेयरमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।


बाँकी रहने ६४ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारणले यही असोज ६ गते बुुुुुुुुधबारदेखि आवेदन दिन पाउने भएका छन् । कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १० गतेदेखि न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआएमा असोज २० सम्म निष्कासन खुला हुने विवरणपत्रमा उल्लेख छ । कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख रूपैयाँ हुने विवरण सार्वजनिक गरेको छ ।


सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सीआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत् ‘मेरोशेयर’ प्रयोग गरेर पनि सेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।


कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ५० करोड रूपैयाँको प्रतिसेयर १ सय रूपैयाँ अंकितका दरले ३ करोड पचास लाख कित्ता सेयरमध्ये ३० प्रतिशत् अर्थात् १ करोड ५ लाख कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो । सोअनुसार प्रतिसेयर १ सय रूपैयाँ अङ्कित मूल्यको ३५ लाख कित्ता साधारण सेयर गत साउन २९ गतेदेखि भदौ २७ गतेसम्म आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका बासिन्दाका लागि निष्कासन गरिएको थियो । जसको बाँडफाँटसमेत भइसकेको छ ।
 

प्रतिक्रिया