सात महिनामा ६९ हजार विदेशी पर्यटक मुस्ताङमा

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार यस अवधिमा ६९ हजार ८१४ विदेशी र दुई लाख ५२ हजार ६६४ स्वदेशी पर्यटकले भ्रमण गरेका हुन्।

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९, कात्तिकमा ८३ हजार ७६६, मंसिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १५३ र माघमा ३२ हजार ४ जना विदेशी तथा स्वदेशी पर्यटक मुस्ताङ पुगेका छन्।

गत वर्षको साउनदेखि माघसम्म भने तीन लाख ४० हजार ७२९ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष १८ हजार १७१ जना अर्थात् ५.३३ प्रतिशतले कमी आएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार म्याग्दी–मुस्ताङ सिमानास्थित घाँसामा सडकमार्ग हुँदै भित्रिने पर्यटकको अभिलेख संकलन गरिन्छ। पोखरा–जोमसोम हवाई सेवा तथा मनाङ हुँदै थोरङ्ला पास पार गरेर आउने पर्यटकको विवरण सम्बन्धित प्रहरी एकाइले राख्ने गरेका छन्।

आर्थिक वर्ष २०८०/८१ मा चार लाख ५४ हजार ३२६ र २०८१/८२ मा सात लाख ५ हजार ७७९ पर्यटक मुस्ताङ भित्रिएको तथ्यांक छ। बेनी–जोमसोम–कोरला सडक सहज बन्दै जाँदा पर्यटक आगमन दर बढ्दै गएको देखिन्छ।

सार्क राष्ट्रका पर्यटकमध्ये अधिकांश भारतीय पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने गरेका छन्। अन्य विदेशी पर्यटक भने बेनी–जोमसोम सडकमार्ग तथा मनाङ हुँदै थोरङ्ला पास पार गरी मुस्ताङ प्रवेश गर्ने गर्छन्।

कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध गर्न तथा मुक्तिनाथ दर्शनका लागि आउने स्वदेशी पर्यटकको संख्या पनि बढ्दो छ। मुस्ताङ पुगेका पर्यटकमध्ये करिब तीन प्रतिशत विदेशीले माथिल्लो मुस्ताङ भ्रमण गर्ने गरेका छन्। पछिल्लो समय जोमसोम–कोरला सडक सहज भएपछि उल्लेख्य संख्यामा स्वदेशी पर्यटक कोरलानाकासम्म पुग्ने गरेका छन्।

प्रतिक्रिया