नेप्से ओरालो लाग्नेक्रम रोकिएन,कारोबार रकम पनि घट्यो

काठमाडौं – मंगलबार नेप्से परिसूचक घटेर २६९७.०४ विन्दुमा बन्द भएको छ। एक महिनापछि पहिलो पटक २७०० विन्दुभन्दा तल झरेको नेप्से यस दिन ७.६६ अंकले ओरालिएको हो। यसअघि फागुन ४ गते परिसूचक २६९८.०३ विन्दुमा झरेको थियो। सेन्सेटिभ इन्डेक्स १.०६ अंकले, फ्लोट इन्डेक्स ०.४९ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४० अंकले घटेका छन्।

नेप्से परिसूचक ओरालिएसँगै बजार कारोबार रकम पनि घटेको छ। सोमबार ५ अर्ब ४० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा मंगलबार ३१३ स्टकको ५० हजार ८३४ पटकको कारोबारमार्फत ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँ बराबरको ८२ लाख ३७ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी ९.९६ प्रतिशतले वृद्धि भई १ हजार ८१० रुपैयाँ पुगेको छ। हिमालयन पावर पार्टनरको शेयर करिब १० प्रतिशतले बढ्दा अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयर करिब ८ प्रतिशतले उकालो लागेको छ। यता, सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.२१ प्रतिशतले घट्दै बजारमा सर्वाधिक गिरावट आएको छ।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३२ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने घलेम्दी हाइड्रोपावरको करिब २३ करोड र नेपाल पुनर्बीमा कम्पनीको १८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

मंगलबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने अन्य उपसमूहको परिसूचक ०.११ प्रतिशतले बढेको छ। घटेका उपसमूहहरूको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय