काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले २२ सयको विन्दु पार गरेको छ। लामो समयदेखि नेप्से १८ सय र २२ सयको बिचमा घुमिरहेको अवस्थामा बिहीबार नेप्से २२ सयको विन्दु पार गरेको हो।
नेकपा माओवादीसँगको सत्ता गठबन्धन तोडेर नेकपा एमालेले नेपाली कांग्रेससँग गठबन्धन गरेर सरकार परिवर्तन हुने भएसँगै नेप्सेमा उछाल आएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिने र उनले विश्वासको मत नपाउने सम्भावना देखिपछि आज एकै दिन नेप्से २९ अंकले बढेको छ।
सत्ता गठबन्धन परिवर्तनको संकेतसँगै बजार बुल ट्रेन्डमा चलिरहेको छ। बिहीबार साताको अन्तिम कारोबारको दिन नेप्से २९.२१ अंकले बढेर १.२४ प्रतिशतले बढेर २२०४.६१ विन्दुमा पुगेको छ।
बजारमा उछाल आएसँगै लाइफ इन्स्योरेन्स समूहमा पनि व्यापक उछाल आएको छ। आज एकै दिन लाइफ इन्स्योरेन्स समूह ३१८.६९ अंकले बढेर १०७२७.७३ विन्दुमा पुगेको छ। बिहीबार १३ वटा समूहमध्ये १२ वटा समूहमा उछाल आउँदा लघुवित्त समूह भने २५.९१ अंकले घटेको छ। आज लघुवित्त समूह ०.५३ प्रतिशतले घटेर ४९४७.२४ विन्दुमा पुगेको छ।
निर्जीवन बीमामा पनि लगानीकर्ताको उत्साह तेत्तिकै रहेको छ। निर्जीवन समूह आज पनि १११.९० अंकले बढेर १११४२.२१ विन्दुमा पुगेको छ।
आज १५४ वटा कम्पनीको शेयर मूल्य बढ्दा ७ अर्ब बढीको कारोबार भएको छ। बिहीबार ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार हुँदा ७८ वटा कम्पनीको शेयर मूल्य घटेको छ। १२ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज ३३१ वटा कम्पनीको शेयर कारोबार हुँदा २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर ८७ हजार ८६ पटक किनबेच भएको छ। बजारमा उछाल आउँदा ३ वटा शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।