काठमाडौं । लगानी बोर्ड नेपालका अनुसार हाल करीब १६ अर्ब रुपैयाँ बराबरका विभिन्न परियोजना पाइपलाइनमा छन्। यी परियोजनामा जलविद्युतसँगै सूचना प्रविधि पार्क, हाइड्रोजन ऊर्जा, कृषि–सोलार तथा अन्य पूर्वाधारसम्बन्धी प्रस्तावहरू समावेश छन्।
बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जेनजी आन्दोलनपछि विदेशी लगानीकर्ताको विश्वास पुनः स्थापित गर्न निरन्तर प्रयास भइरहेको बताए। उनका अनुसार गत आर्थिक वर्षमा बोर्डले २ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको थियो। चालु आर्थिक वर्षका लागि ७ खर्बको स्वीकृति लक्ष्य राखिएको छ, जुन अत्यन्तै महत्वाकांक्षी मानिएको छ।
नेपाल आर्थिक पत्रकार संघसँगको भेटमा ज्ञवालीले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालबारे नकारात्मक छवि बनाएको बताउँदै त्यसलाई सुधार गर्न कदम चालिएको जानकारी दिए। उनले पछिल्ला घटनाक्रमले लगानीकर्ताहरूको मनोबल प्रभावित भएकाले विश्वसनीयताको वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गरे।
उनले संकटका बीच पनि बोर्डले एक दिन पनि सेवा प्रवाह रोक्नुपरेको अवस्थाले नपुगेको बताउँदै सतत कार्यसञ्चालनले लगानीकर्तामा सकारात्मक सन्देश दिएको धारणा राखे। उनका अनुसार सबै सरोकारवालालाई एक प्लेटफर्ममा ल्याएर ‘हामी उठ्नैपर्छ’ भन्ने संदेशसहित विश्वास निर्माण गर्ने प्रयास भइरहेको छ।
बोर्डले हालसम्म जलविद्युत, सिमेन्ट, पर्यटन, पूर्वाधार तथा सूचना प्रविधि लगायतका क्षेत्रमा खर्बौं रुपैयाँका परियोजना स्वीकृत गरिसकेको छ। ज्ञवालीका अनुसार अब सरकारले आयोजना छान्ने र लगानीकर्ता खोज्ने पुरानो अभ्यास त्यागेर लगानीकर्तालाई आफ्नै नवीन प्रस्तावसहित आउन प्रोत्साहित गरिएको छ। यसले बजारको वास्तविक माग तथा लगानीकर्ताको विशेषज्ञताअनुसारका परियोजनाहरू अघि बढ्न सहज भएको उनले उल्लेख गरे।
उनका अनुसार विदेशी लगानीकर्ताको मुख्य चिन्ता राजनीतिक अस्थिरता र नीतिगत परिवर्तनका जोखिमसँग जोडिएको छ। यसलाई सम्बोधन गर्न लगानी बोर्डले आवश्यक कानुनी सुधारका माध्यमबाट लगानी सुरक्षित हुने वातावरण सुनिश्चित गर्ने काम भइरहेको उनले बताए।