काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधि सभाको नयाँ सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।
संसद् सचिवालयले तोकेको समयअनुसार दिउँसो २ बजेसम्म अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्। उनको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन्।
रास्वपाको एक्लै करिब दुई तिहाइ बहुमत रहेकाले विपक्षी दलहरूले उम्मेदवारी दर्ता गराएनन्। अब आइतबार बस्ने प्रतिनिधि सभाको बैठकले औपचारिक रूपमा अर्यालको निर्वाचित भएको घोषणा गर्नेछ।
उम्मेदवारी दर्तापछि अर्यालले संविधान, कानुन र जनताको हितअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले राष्ट्र र राष्ट्रियताको हितलाई केन्द्रमा राख्दै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच सन्तुलन कायम गर्दै व्यवस्थापिकाको भूमिका निष्पक्ष र न्यायपूर्ण रूपमा निर्वाह गर्ने बताएका छन्।