चितवनको राप्ती नगरपालिका–१ लोथरदेखि बाराको अमलेखगञ्जसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना औपचारिक रूपमा सुरु भएको छ। नेपाल आयल निगमले शुक्रबार लोथरमा फिल्ड कार्यालय स्थापना गरेसँगै झण्डै १५ अर्ब रुपैयाँको लागतमा बन्ने यस परियोजनाको काम प्रारम्भ भएको जनाएको छ।
परियोजनाको प्रमुख इन्जिनियर प्रदीपकुमार यादवले यो राष्ट्रिय रणनीतिक महत्वको योजना भएकाले ५४ महिनाभित्र सक्ने लक्ष्य भए पनि ३६ महिनामै सम्पन्न गर्ने गरी काम अघि बढाइने जानकारी दिए। उनले डीपीआर निर्माण तथा कागजी प्रक्रिया पूरा भइसकेकाले अब फिल्डमा काम तीव्र रुपमा अघि बढ्ने बताएका छन्।
यो परियोजना भारतीय आयल निगम (IOC) द्वारा निर्माण हुनेछ। कुल लागत १५ अर्ब रुपैयाँमध्ये ५ अर्ब IOC र १० अर्ब नेपाल आयल निगमले लगानी गर्ने गरी २०८१ साल असोज १७ गते दुई पक्षबीच सम्झौता भएको थियो।
पाइपलाइन निर्माणमा ४ अर्ब २८ करोड ८० लाख र लोथरमा अत्याधुनिक भण्डारणसहितको ग्रीन फील्ड टर्मिनल निर्माणमा ९ अर्ब ८० करोड ८० लाख रुपैयाँभन्दा बढी खर्च हुने बताइएको छ। २०८० साल जेठ १८ गते नेपाल–भारतबीच अमलेखगञ्ज–लोथर पाइपलाइन र लोथर डिपोसम्बन्धी सहमति भएको थियो।
यस सहमतिको आधारमा २०८१ असोज १७ मा नेपाल आयल निगम र भारतीय आयल निगमबीच बिटुबी (B2B) सम्झौता भएको थियो। सोहीअनुसार भारतीय पक्षले विस्तृत परियोजना प्रतिवेदन तयार गरेको छ। परियोजना अनुसार पाइपलाइनदेखि डिपोसम्मका सबै निर्माण कार्य भारतीय आयल निगम र त्यसका विज्ञहरुले गर्नेछन्। साथै, नेपाल आयल निगमले दिनुपर्ने १० अर्ब रकम निर्माणका विभिन्न चरणमा भारतीय आयल निगमलाई उपलब्ध गराइने छ।
निगमका अनुसार लोथरमा निर्माण हुने डिपो देशकै अहिलेसम्मकै सबैभन्दा ठूलो डिपो हुनेछ।