बरुण हाइड्रोपावरको हकप्रद शेयर निष्काशन खुला

काठमाडौं — बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले असार ३१ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अनुपातमा अर्थात् १:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

यसअनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता शेयर जारी गर्दैछ, जसको कुल मूल्य ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ हुनेछ।

यस हकप्रद शेयरको लागि कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको थियो। त्यसअर्थमा, जेठ २१ गतेसम्म नेप्सेमा खरिद गरी कायम रहेका शेयरधनीहरूले साउन १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

यस हकप्रद निष्काशनको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले ‘CARE-NP BB’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतालाई औसत जोखिममा रहेको संकेत गर्दछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। आवेदन दिने सुविधा राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा तथा सबै सि-आस्बा सदस्य बैंक र वित्तीय संस्थाबाट प्राप्त हुनेछ। साथै, लगानीकर्ताले ‘मेरो शेयर’ प्रयोग गरेर अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ। हकप्रद बाँडफाँटपछि कम्पनीको पूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।

हकप्रदबाट संकलन हुने रकममध्ये १ करोड ५८ लाख रुपैयाँ हेवाखोला जलविद्युत् आयोजनाको पुनःनिर्माण तथा अन्य खर्चमा खर्च गरिनेछ भने बाँकी ५२ करोड रुपैयाँ जलशक्ति हाइड्रो कम्पनी प्रा.लि.मा लगानी तथा अधिग्रहणमा प्रयोग गरिनेछ।

प्रतिक्रिया