जेन–जी आन्दोलनपछि निर्जीवन बीमा बजारमा तीव्र वृद्धि

काठमाडौं । जेन–जी आन्दोलनपछि निर्जीवन बीमा व्यवसायमा उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो पाँच महिनामा निर्जीवन बीमा क्षेत्रको कुल कारोबार करिब २० अर्ब रुपैयाँ पुगेको छ, जसले बीमा बजारमा गतिविधि बढेको संकेत गरेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर मसान्तसम्म निर्जीवन बीमा क्षेत्रले १९ अर्ब ९८ करोड ५६ लाख रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ। यस अवधिमा कुल १३ लाख ४१ हजारभन्दा बढी बीमालेख जारी भएका छन्।

१४ वटा निर्जीवन बीमा कम्पनीले मात्रै १९ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गर्दै ११ लाख ६२ हजारभन्दा बढी बीमालेख जारी गरेका छन्। यस्तै, चार वटा लघु बीमा कम्पनीले करिब ४९ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गर्दै १ लाख ७९ हजारभन्दा बढी बीमालेख जारी गरेका छन्।

मंसिर महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन्। सो अवधिमा तीन लाखभन्दा बढी बीमालेख जारी भएका छन् भने बीमांक रकम ८ खर्ब ६१ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

मंसिरमा १४ वटा निर्जीवन बीमा कम्पनीबाट ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको छ। यस क्रममा दुई लाख ४९ हजारभन्दा बढी बीमालेख जारी भएका छन्, जसको बीमांक रकम ८ खर्ब ५१ अर्ब रुपैयाँभन्दा बढी रहेको छ।

लघु बीमा कम्पनीहरूले मंसिर महिनामा मात्रै करिब १३ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन्। यस अवधिमा ५० हजारभन्दा बढी बीमालेख जारी हुँदा बीमांक रकम १० अर्ब रुपैयाँ नाघेको छ।

बीमा प्राधिकरणका अनुसार पछिल्लो समय जनचेतना वृद्धि, अनलाइन सेवा विस्तार र बीमा पहुँच बढेसँगै निर्जीवन बीमा क्षेत्रमा कारोबार बढ्दै गएको छ। बजार विस्तारसँगै आगामी महिनामा बीमा व्यवसाय अझै सक्रिय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया