डडेल्धुरा - डडेल्धुरामा एक रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमका अनुसार दुर्घटनामा दुई महिला, एक पुरुष, र एक शिशुको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार बैतडीको पुर्चौंडी नगरपालिका–३ की ४५ वर्षीया जयमती बोहरा, २६ वर्षीया कमला बोहरा, उनका दुईदिने शिशु, र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको छ।
महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस गएराति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका-७, खस्रेखानमा दुर्घटना भएको हो। बस सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ।
गम्भीर घाइते बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्य घाइतेहरूको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ।