नयाँ नोट सटहीमार्फत ५६ अर्ब रुपैयाँ बजारमा प्रवाह

काठमाडौं । यस वर्षको दसैं अवधिमा राष्ट्र बैंकबाट करिब ५६ अर्ब रुपैयाँ बराबरका नयाँ तथा सुकिला नोट बजारमा प्रवाह भएका छन्। राष्ट्र बैंकले भदौ २९ देखि असोज १० गतेसम्म नयाँ नोट सटही कार्यक्रम सञ्चालन गरेको थियो।

उक्त अवधिमा राष्ट्र बैंकका केन्द्रीय र क्षेत्रीय कार्यालयमार्फत सर्वसाधारणले पाँचदेखि सय रुपैयाँ दरका करिब डेढ अर्ब रुपैयाँ बराबरका नोट साटेका थिए। त्यस्तै बैंक तथा वित्तीय संस्थामार्फत करिब साढे चार अर्ब रुपैयाँ सटही भएको राष्ट्र बैंकले जनाएको छ। यसरी राष्ट्र बैंक र बैंक–वित्तीय संस्थाबाट गरी करिब ६ अर्ब रुपैयाँ नयाँ नोट वितरण भएको हो।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट थप ५० अर्ब रुपैयाँ बराबरका नोट निकालेका थिए। यी सबै रकम जोड्दा केवल दसैं अवधिमा मात्रै कुल ५६ अर्ब रुपैयाँ बजारमा प्रवाह भएको देखिन्छ।

राष्ट्र बैंकका अनुसार दसैंको समयमा चलनचल्तीमा रहेको कुल मुद्रा आठ खर्ब रुपैयाँ नाघेको छ। यसअघि करिब साढे सात खर्बमा सीमित रहेको मुद्रा प्रवाह यो वर्ष बढेर आठ खर्बभन्दा माथि पुगेको हो।

राष्ट्र बैंकका अनुसार बजारमा कति पैसा पठाउने भन्ने निर्णय अर्थतन्त्रको आकार, आर्थिक गतिविधि र मागअनुसार गरिन्छ। बैंकले छापिएका सबै नोट एकै पटक बजारमा पठाउँदैन, आवश्यकताअनुसार मात्र वितरण गर्छ।

दसैं, तिहार र छठ जस्ता चाडपर्वका अवसरमा राष्ट्र बैंकले प्रत्येक वर्ष नयाँ नोट वितरण गर्दै आएको छ। अघिल्ला वर्षहरूमा यस्ता पर्वमा ६० देखि ९० अर्ब रुपैयाँ बराबरका नोट वितरण हुने गरेकोमा यो वर्ष त्यसभन्दा केही कम भएको छ।

राष्ट्र बैंकका अनुसार सर्वसाधारणले प्रायः सय रुपैयाँभन्दा साना दरका नोट साट्ने गर्छन् भने बैंक तथा वित्तीय संस्थाले पाँच सय र हजार दरका नोट बढी प्रयोग गर्छन्। यसमा सिक्का समावेश गरिएको छैन। साथै, दसैं–तिहारका बेला चाँदी र सुनका सिक्का तथा स्मारक असर्फीको बिक्री पनि बढ्ने गरेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया