अमेरिकामा एकै परिवारका चार नेपाली घरमै मृत फेला, अनुसन्धान जारी

अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा बसोबास गर्दै आएका नेपाली परिवारका चार सदस्य आफ्नै अपार्टमेन्टभित्र मृत फेला परेका छन्। मृतकमध्ये दुईजना वयस्क र दुईजना साना बालबालिका रहेको प्रहरी स्रोतले जनाएको छ।

एनबीसी वाशिङ्टनका अनुसार बिहीबार राति भएको घटनामा ३८ वर्षीय सन्तोष परियार, उनकी पत्नी ३६ वर्षीया अञ्जु श्रेष्ठ र उनका दुई सन्तान—८ वर्षीया छोरी र २ वर्षीय छोरा—मृत अवस्थामा भेटिएका हुन्। उनीहरू लानाए लेनस्थित ९४०० ब्लकको अपार्टमेन्टमा बस्दै आएका थिए।

तल्लो तलामा बस्दै आएका परियार परिवारसँग सम्पर्क हुन छाडेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले उनीहरूलाई गोली लागेका अवस्थामा मृत फेला पारेको हो। घटनास्थलबाट एक थान बन्दुक पनि बरामद गरिएको छ।

मनासस पार्क प्रहरीले प्रारम्भिक अनुसन्धानमा यो घटना हत्या या आत्महत्या दुबै कोणबाट हुन सक्ने आशंका व्यक्त गरेको छ। तर, कसले गोली चलायो भन्ने पुष्टि भने हालसम्म भएको छैन। शवहरू थप परीक्षणका लागि मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको जनाइएको छ।

प्रहरीले घटनाको कारणबारे यकिन तथ्य अझै बाहिर नआएको भए पनि अनुसन्धान तीव्र पारिएको जनाएको छ। प्रहरीका अनुसार, ‘हामी सबै कोणबाट अनुसन्धान गरिरहेका छौं र कुनै पनि निष्कर्षमा पुग्नुअघि तथ्य पुष्टि हुन आवश्यक छ।’

यो घटनाले नेपाली समुदायलाई स्तब्ध बनाएको छ। यसअघि पनि भर्जिनियामै नेपाली महिला ममता काफ्ले रहस्यमय रूपमा मृत भेटिएकी थिइन्। उक्त घटनामा ममताका श्रीमान नरेश भट्टमाथि मुद्दा दायर भइसकेको छ र अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय