काठमाडौं - यसो त नेपालमा पछिल्लो समय आइपीओको बाढी नै आएको छ । धेरै कम्पनीले पूँजी जुटाउनको लागि भरपर्दो माध्यम प्राथमिक शेयरलाई बनाइ रहेका छन् ।
यसै बीच अर्को एक कम्पनी पनि थपिएको छ । भुजुङ हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । त्यसको लागि उसले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
भुजुङले प्रतिसेयर १०० रूपैयाँ अंकित दरको ५ लाख ८५ हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । हाल यस हाइड्रोपावरको अधिकृत पुँजी ५० करोड रुपैयाँ, जारी पुँजी ४३ करोड रुपैयाँ र चुक्ता पुँजी ३२ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावाट क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ । आयोजनाको कुल लागत ३९ करोड रहेको छ । यो आयोजना लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।